प्रधानमन्त्री ओली : नेपाली नागरिक अब भोक र तिर्खाले मर्ने दिन गए
(पाँचथर) प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न लागिपरेको बताउनुभएको छ ।
जनजीविकासंग गाँसिएको प्रमुख योजनाहरुको निर्माण कार्य द्रुत गतिमा हुँदै गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले अब सर्वसाधरणको सुखदको दिन सुरु भएको बताउनु भयो ।
पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा आइतबार तीन हजार ४३ घरका १७ हजार बढी नागरिकका लागि वितरित पिउने पानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिकले अब भोक र तिर्खाले मर्ने दिनको समेत अन्त्य भएको बताउनु भयो ।
मुहान सुकेर पानी जोहो गर्न घण्टौ समय लगाउनुपर्ने र पानी जोहो गर्न कष्टपूर्ण कार्यहरु गर्नु पर्ने दिनको समेत अन्त्य हुनेगरी सरकार लागेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।
यस सुक्खा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको खुशी हेर्न आगामी दिनमा अन्य भौतिक पूर्वाधारका ठूलाठूला योजनाहरु कार्यान्वयन हुँदैगरेको पनि उहाँले बताउनुभयो । ५१ करोडमा ३० लाख रकमको लागतमा तमोर नदीदेखि पम्पिङ प्रविधिबाट खानेपानी ल्याउने काम भएको हो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातयात मन्त्री बसन्तकुमार नेम्बाङ, स्वाथ्स्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेश १ का आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको उपस्थिति रहेको थियो ।