नेकपा सचिवालयको बैठक जारी, एमसीसी र संविधान संशोधनका विषयमा छलफल
(काठमाडौँ) अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसी र अन्य समसामयिक विषयबारे छलफल हुने बताइएको छ । सचिवालय बैठक शुरु हुनअघि एजेन्डा तय गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता समेत भएको थियो ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार अध्यक्षद्वयबीचकाे छलफलमा संविधान संशोधन, गौतमलाई राष्टियसभामा लाने, एमसीसीको विषयमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, पार्टी एकताको बाँकी काम लगायतको विषयले प्रवेश पाएकाे थियाे ।
गत शुक्रबार वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलले एमसीसीबारे आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा एमसीसी यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव कार्यदलले दिएको छ । दुई अध्यक्षले अध्ययन गरेर प्रतिवेदनलाई सचिवालय बैठकमा पेश गर्ने जानकारी दिएका थिए ।