सुदूरपश्चिममा कोरोनाको उच्च सर्तकता
(कैलाली) कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै अस्पतालहरूमा छुटै उपचार कक्षको स्थापनाको लागि पत्राचार गरेको छ ।
नोवेल कोरोना भाइरससम्बन्धी रोकथाम, प्रतिकार्य तथा व्यवस्थापनका लागि नीतिगत निर्णय गरेर मन्त्रालयले पूर्व तयारी थालेको जनाएको छ । मन्त्रालयले अस्पतालहरूमा स्क्रिनिङ र सर्भिलेन्ससम्बन्धी व्यवस्था गर्न, उपचारका लागि छुट्टै कक्षको तयार गर्न, सुरक्षाका अन्य उपायहरू अपनाउन, प्रयोगशाला परीक्षणको व्यवस्था गर्न, सम्पर्क व्यक्ति र प्रतिकार्य टोलीको व्यवस्था गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले स्थानीय तहको उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा ‘नोवेल कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण समिति’ गठन गर्ने समेत सबै स्थानीय तहहरूमा पत्राचार गरेको छ ।
‘कोरोना भाइरस फैलन नदिन हामी पूर्ण रूपमा लागिरहेका छौँ’ सामाजिक विकास मन्त्री कृष्ण सुबेदीले बताए । मन्त्री सुवेदीले सबै अस्पतालहरूमा छुटै उपचार कक्षको स्थापना र स्थानीय तहमा समिति गठन गर्ने विषयमा पत्राचार गरेको समेत जानकारी गराए ।
‘सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा कक्ष निर्माण समेत भइसकेको छ । अन्य अस्पतालहरूमा पनि यसको तयारी भइरहेको जानकारी पाएको छु,’ उनले भने, ‘स्थानीय तहहरू पनि समिति गठन गर्ने प्रक्रियामा छन् ।’ मन्त्रालयले सीमा क्षेत्रमा हेल्थ डेस्कको पनि स्थापना गरिसकेको उनले जानकारी दिए । कैलालीको त्रिनगर र सत्ती कञ्चनपुरको गड्डाचौकी र दार्चुलामा पनि हेल्थ डेस्क स्थापना गरिएको मन्त्री सुबेदीले जानकारी बताए । केही दिन भित्रै धनगढी विमानस्थलमा पनि हेल्थ डेस्क स्थापनाको तयारी भइरहेको उनले सुनाए ।
‘भारतमा पनि यसको सङ्क्रमण देखिएको छ,’ उनले भने, ‘खुला सीमाका कारण यो रोग भित्रन सक्छ । सोही कारण हामीले सीमा क्षेत्रमा विशेष सावधानी अपनाएका र्छौँ ।’
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि आफूहरू पूर्ण तयार अवस्थामा रहेको बताए । उनले भने, ‘सीमा क्षेत्र र अस्पतालमा हामीले बढी सक्रियता देखाएका छौँ ।’
मन्त्रालयले महामारी व्यवस्थापन शीर्षकमा प्रत्येक जिल्लामा ५ लाख देखी २० लाखसम्म रकम पठाइसकेको उनले जानकारी दिए । ‘हामीले प्रत्येक जिल्लामा रकम पठाएका छौँ,’ उनले भने, ‘रकम कोरोना भाइस रोकथाम र पूर्व तयारीमा लगाउन निर्देशन पनि दिइसकेका छौँ ।’ अधिकांश अस्पतालले कम्तीमा एउटा बेड र छुट्टै उपचार कक्ष निर्माणको तयारी गरिरहेको उनले बताए ।
‘अस्पतालहरूमा भइरसको शङ्का लागे तत्काल प्रयोगशालामा पठाउन निर्देशन जारी गरिएको छ,’ उनले भने । यस अघि बाजुराबाट एक जनाको नमुना काठमाडौं पठाइसकेको कार्कीले जानकारी दिए ।
बाजुराको हिमाली गाउँपालिका र स्वामी कार्तिक खापार गाउँपालिकामा फैलिएको भाइरल ज्वरोका कारण २ जनाको ज्यान गएको थियो । उक्त ज्वरोबाट तीन सय भन्दा बढी बिरामी परेका थिए । कोरोनाको शङ्कापछि मन्त्रालयले एक जनाको नमुना प्रयोगशालामा पठाएको थियो । ‘उहाँको मृत्युको कारण छुट्टै रहेछ,’ सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले भने, ‘कोरोनाको शङ्कामा नमुना पठाइएको थियो । कोरोना होइन भन्ने पुष्टि भयो । ’
सेती प्रादेशिक अस्पतालमा पनि कोरोनाको शङ्कामा आलेको अवस्थामा चेकजाच गर्न छुट्टै टोली तयार गरिएको जनाएको छ । भाइरसको उपचार गर्न र परीक्षण गर्न छुट्टै कक्ष र टोली तयार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । प्रदेशको रेफ्रल अस्पताल भएका कारण पनि बढी सावधानी अपनाइएको उनले जनाए ।
‘४/५ वाडको एउटा छुट्टै कक्ष तयार गर्दै छौँ । रगत परीक्षण गर्नको लागि पनि छुट्टै स्वास्थ्य कर्मीको टोली र कक्ष तयार गरेका छौँ,’ उनले भने, ‘प्रदेशका सबै जिल्लाबाट बिरामी यहाँ आउँछन् । त्यसैले हामी पूर्व तयारीमा छौँ । ’
भारत र चीन दुबैसँग नाका जोडिएको हुँदा सुदूरपश्चिम प्रदेश पनि उच्च जोखिममा रहेको छ । प्रदेश सरकारले भने बलियो पूर्व तयारी गरेका कारण यसको सङ्क्रमण फैलन नदिने दाबी गरेको छ ।