वर्षाले आगलागी चपेटामा परेको अस्ट्रेलियामा केही राहत
(सिड्नी) शुक्रबारदेखि वर्षा भएपछि आगलागी र खडेरीसँग जुधिरहेकाे पूर्वी अस्ट्रेलियामा केही राहत महसुस गरिएकाे छ । वर्षाले केही ठाउँको आगो निभाए पनि धेरै ठाउँको आगो भने ननिभेको एएफपीले जनाएको छ ।
सेप्टेम्बरदेखि फैलिएको भीषण आगलागीमा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ। त्यस्तै आगलागीका कारण लाखौँ वन्यजन्तु र पशुपन्छी मारिएका छन्। वन्यजन्तु र सुन्दर समुद्री किनारका लागि प्रसिद्ध अस्ट्रेलियाको झण्डै एक लाख तीन हजार वर्ग किलोमिटर भूभागमा आगो फैलिएको छ। २५ सय घर आगोमा जलेर ध्वस्त भएका छन्।
आगलागीले सबैभन्दा बढी प्रभावित भिक्टोरिया, न्यु साउथ वेल्स तथा क्वीन्सल्याण्ड राज्यमा केही राहत दिए पनि पूर्ण रुपमा आगो भने ननिभेको अधिकारीहरुले जनाएका छन्। ‘हामी निरन्तर वर्षा भइरहोस् भनेर प्राथना गरिरहेका छौँ,’ न्यु साउथ वेल्स अग्नि नियन्त्रण कार्यालयले शुक्रबार ट्विटरमा लेखेको छ।त्यहाँकाे मौसम विभागका अनुसार केही दिनसम्म न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा भीषण हावाहुरी र पानी पर्ने सम्भावना रहेको छ। वर्षाले अग्नि नियन्त्रण कर्मचारी र किसानलाई राहत दिए पनि केही ठाउँमा बाढी र रुखहरु पनि ढलेका छन्।
वर्षाले डढेलोका कारण धुमिल भएको अस्ट्रेलियाको आकाश सफा भएको छ। तर पनि शुक्रबार सिड्नी, क्यानबेरा र मेलबर्न विश्वका सबैभन्दा बढी प्रदूषित एक सय शहरमा परेका थिए।
आगलागीका कारण अस्ट्रेलियाली अर्थतन्त्रलाई ठूलो धक्का पुगेको छ। अस्ट्रेलियाली अर्थतन्त्रको मुख्य आधार मानिने पर्यटन क्षेत्रमा आगलागीका कारण झण्डै एक अर्ब अमेरिकी डलर घाटा भएको बताइएको छ।