आज रातिसम्मै पानी पर्ने
(काठमाडौँ) बिहीबार रातिदेखि परेको पानी शुक्रबार दिनभर काठमाडौंलगायत मुलुकभर पनि पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकी मौषमविद विभूति पोखरेलले पानी दिउँसो एकछिन रोकिए पनि पुनः पर्ने जानकारी दिइन ।
‘पानी दिउँसो एकछिन रोकिएपनि दिनभर र रातभर पर्ने देखिएको छ,’ पोखरेलले भनिन्, ‘भोली बदली भएपछि क्रमश मौषम सुधार हुँदै जाने देखिएको छ।’
आज राति पनि देशका केही स्थानहरुमा हल्का बर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पोखरेलले बताइन।
विभागले देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपात पर्ने जनाएको छ। मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको पोखरेलले बताइन।
मुलुकभर पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकाले नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा पूर्णतया बदली रहने र पानी पर्ने विभागले जनाएको छ।
शनिबारपनि देशभर सामान्य बदली भई पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने विभागले जनाएको छ।
आइतबार दिउँसो अन्य स्थानमा बदली सफा रहने तथा पहाडी भू–भागमा आंशिक बदली भई थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको पोखरेलले बताइन।