नयाँ मौसमी प्रणाली भित्रिँदै, शुक्रबारसम्म देशभर वर्षा र हिमपात
(काठमाडौं) केही दिनदेखि घमाइलो रहेको मौसममा बुधबार रातिबाट पुनः बदलाब आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ ।
बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेकाे मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल बताउँछन् ।
‘बुधबार राति देशको पश्चिम क्षेत्रबाट प्रवेश गर्ने पश्चिम न्यून चापीय प्रणाली केही सशक्त हुने देखिएको छ । त्यसले भोलि र पर्सि पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात हुनसक्छ,’ मौसमविद् पौडेलले अनलाइनखबरसँग भने ।
नयाँ मौसमी प्रणालीका कारण बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपात हुने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।
शनिबारबाट भने मौसम सुधारिने मौसमविदको प्रक्षेपण छ । ‘शनिबारबाट यो मौसमी प्रणाली कमजोर भएर बाहिरिने भएकाले मौसम सुधारिन्छ,’, मौसमविद् पौडेलले भने ।