झारखण्डका मुख्यमन्त्री पराजित, कांग्रेस गठबन्धनलाई बहुमत
(काठमाडौं) झारखण्ड विधानसभामा झारखण्ड मुक्ति मोर्चा (झामुमो), भारतीय नेसनल काँग्रेस र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ ।
८१ सदस्यीय विधानसभामा यो गठबन्धनले ४७ स्थानमा जित हासिल गरेको छ । जसमध्ये झामुमोले ३०, काँग्रेसले १६ र आरजेडीले एक स्थानमा जितेको छ । २०१४ मा झामुमोको १९ र काँग्रेसको ६ सिट थियो । केन्द्रमा भारी बहुमत सहित सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) झारखण्डमा भने दोस्रो ठूलो दलमा सीमित भएको छ । यसपटक भाजपाले २५ सिट हासिल ग¥यो । गत विधानसभा निर्वाचनमा ३७ स्थानमा जितेर उसले पाँच वर्ष सरकार चलाएको थियो ।
नरेन्द्र मोदी, अमित शाह लगायत केन्द्रीय नेताहरूको विश्वासपात्र मानिएका झारखण्डका मुख्यमन्त्री रघुबर दास आफैले चुनाव जित्न सकेनन् । २००० नोभेम्बरमा झारखण्ड राज्य स्थापना भए यता पहिलो पटक पाँच वर्षे कार्यकाल पुरा गरेका निवर्तमान मुख्यमन्त्री रघुवर दासलाई स्वतन्त्र उम्मेदवार सरयु रोयले पराजित गरेका हुन ।
छ महिना पहिला भएको लोकसभा निर्वाचनमा भाजपाले ५० प्रतिशत भन्दा बढी मत ल्याएको झारखण्ड क्षेत्रमा स्वतन्त्र उम्मेदवारले भन्दा निवर्तमान मुख्यमन्त्रीले दश प्रतिशत कम मत पाए । रोयले ७३ हजार ९४५ भोट पाउँदा दासले जम्मा ५८ हजार ११२ मत पाए ।
भाजपाका पूर्व नेता रोयले रघुबर दाससँगको असन्तुष्टिपछि पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।