सुवास नेम्वाङ : सभामुखबारे मलाई नबोल्ने आदेश छ, उपनिर्वाचनले सत्तापक्षलाई नमात्तिन र प्रतिपक्षलाई नआत्तिन सन्देश दियो’
(काठमाडौं) संविधानसभाका अध्यक्ष तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू पाँचाैंपटक सभामुख बन्न तयार रहेको संकेत गरेका छन् ।
कृष्णबहादुर महराले राजीनामा दिएलगत्तै सभामुखमा नाम चर्चामा आउँदा नेम्वाङले आफू पुनः सभामुख हुन इच्छुक नरहेको प्रतिक्रिया दिएका थिए ।
आफूले सो प्रतिक्रिया दिएपछि पार्टीका नेताहरुले सभामुख बन्ने वा नबन्ने बारेमा कुनै प्रतिक्रिया नदिन भनेपछि नेम्वाङ पछिल्लो समय यो प्रश्नमा उम्किने गरेका छन् । यद्यपि , प्रधानमन्त्री तथा नेकपाका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीको रुचि नेम्वाङलाई नै सभामुख बनाउने रहेकाले पाँचौं पटक उनको सम्भावना बढेको कतिपय नेताहरु बताउँछन् ।
मैले सुरुमा यसबारेमा आफ्ना केही टिप्पणीहरु गर्न खोज्दा दलका नेताले मलाई अहिले तपाईं केही नबोल्नुस् भनेका छन्
पहिलोपटक ०६३ सालमा पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख बनेका नेम्वाङ त्यसपछि तत्कालीन विद्रोही माओवादीसहितको अन्तरिम संसदको पनि सभामुख निरन्तर भए । ०६४ र ०७० को संविधानसभा निर्वाचनपछि नेम्वाङ नै संविधानसभा अध्यक्ष र सभामुखमा दोहोरिए ।
नेकपाभित्र अग्नि सापकोटा र देव गुरुङ पनि सभामुखको लबिङमा रहेका र उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख बन्ने निश्चित भएपछि मात्र उपसभामुखबाट राजीनामा दिने बताइरहेका बेला नेम्वाङले भने यो निर्णय पार्टी र संसदले सहज रूपमा गर्ने दाबी गरेका छन् ।
नेम्वाङले आफू सभामुख बन्नुपर्ने अवस्थामा तयार रहेको संकेत मात्र गरेनन्, संविधानबमोजिम उपसभामुख फरक दललाई दिनु परे पनि कांग्रेसले नपाउने आशयसमेत प्रकट गरे ।
उपनिर्वाचनका बेला अध्यक्ष प्रचण्डसँगै अर्का अध्यक्ष ओलीको प्रतिनिधिका रूपमा देश दौडाहा गरेका नेम्वाङले उपनिर्वाचनले सत्तापक्षलाई नमात्तिन र प्रतिपक्षलाई नआत्तिन सन्देश दिएको बताए ।