ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेेको हो : देउवाको दावी ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ'
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् ।
भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भएको बताएको छ । नेपालले आपत्ति जनाएपछि भारतले आफ्नो नक्सामा ‘काली’ लेखिएको पदावली हटाएर संशोधित नक्सा सार्वजनिक गर्यो । तर, त्यसलाई पनि नेपालले मानेको छैन ।
प्रधानमन्त्री ओली स्वयंले सार्वजनिक मञ्चबाटै कालापानीबाट सेना हटाउन भारतलाई आग्रह गरेका छन् । यही साता सरकारले भारतलाई कूटनीतिक नोटसमेत पठाएको छ । तथापि, विपक्षी दलका नेता देउवाले कालापानीका विषयमा सरकारमाथि बारम्बार प्रश्न उठाउँदै आएका छन् । शनिबार कास्की २ को चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नयाँ दाबी गरे, ‘भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो ।’
महाकाली सन्धी गर्दा आफूले कालापानीलाई सीमा बनाए पनि सरकारले नेपाली भूभागको रक्षा गर्न नसकेको देउवाको आरोप छ । पोखरा पुगेका उनले भने, ‘कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गरेका छन् ओलीले ।’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भने देउवाको आरोपको खण्डन गरेको छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा हामी सरकारको साथमा छौं भनेका देउवाले नै भ्रमक प्रचार गर्नु दुःखद भएको नेकपा प्रवक्ता नारायणकाजी प्रकाशले बताए ।
यसले देशलाई अहित गर्ने उनले बताए । ‘राष्ट्रियताको सवालमा सिंगो देश एकतावद्ध भएको बेला आएको यो अभिव्यक्तिले देशलाई विभाजित गर्ने काम गर्छ’ उनले भने ।