डाक्टर विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ
(काठमाडौं) ‘अब मेरो पनि महरासँग भेट हुने भो !’
चेकजाँच गर्न आएकी विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा चिकित्सक रोहितप्रसाद झाले हातमा हत्कडीमा लाग्नेवित्तिकै ठट्यौली शैलीमा भने ।
मेडिसिटी अस्पतालबाट नियन्त्रणमा लिएर जाउलाखेलस्थित हिरासतमा पुर्याएपछि भने झाको अनुहारको रंग बदलियो । जबरजस्ती करणी उद्योगमा पक्राउ परेका झालाई भेट्न पुगेकी श्रीमती उनलाई देख्ने बाहिर भक्कानिइन् । तब डा. झाले बलात्कार गर्न नखोजेको भन्दै प्रतिवाद गरे । यद्यपि उनी दोषी देखिने पर्याप्त आधार रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
(प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि पनि कर्मचारीमाथि जबरजस्तीकरणी उद्योग गरेको आरोप लागेको छ र १९ असोजमा पक्राउ परेका उनी डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।)
कीर्तिपुरकी ३० वर्षीया कमला (परिवर्तित नाम) समयसमयमा ‘होलबडी चेकअप’ गराउँथिन् ।
आइतबार नियमित परीक्षणकै लागि मेडिसिटी अस्पताल पुगेर डा. झालाई भेटिन् । अरु दिन डाक्टरको कोठामा छिर्ने वित्तिक एक जना महिला सहयोगी पनि सँगै हुन्थिन् । तर, आइतबार डा. झा एक्लै थिए । ‘सुरुमा रिपोर्ट हेर्दै उहाँले चुपचाप बस्नु भएको थियो तर, एकैछिनमा प्रोफेसनभन्दा बाहिरको कुरा गर्न थाल्नुभयो’, पीडित महिलाले अनुसन्धान अधिकृतसमक्ष भनेकी छन् ।
‘हाउ ब्यूटिफुल !’
डाक्टर झाले एक्कासी आफ्नो तारिफ गरेपछि कमलाले अचम्म मानिन् । प्रतिक्रिया भने जनाइनन् । हाँसिन् मात्र र रिपोर्टबारे प्रश्न गर्न खोजिन् । झा स्थेस्कोप लिएर कमलाको छेउ पुगे । ‘स्थेस्कोप लगाउनुको साटो छातीमा हात पुर्याए’, पीडितले दिएको जाहेरीमा भनिएको छ ।
त्यसपछि उनले आफ्नो संवेदनशील अंगमा समेत हात पुर्याएको पीडितले बताएकी छन् । आफू चिच्याउँदै बाहिर निस्किइन् तर झाले भने ‘किसीको मत बताना !’ भनेको उनको बयान छ ।
मेडिसिटी अस्पतालबाट निस्कनासाथ कमलाले श्रीमानलाई घटनाबारे जानकारी गराएकी थिइन् । श्रीमानले संयमता अपनाउँदै प्रहरी परिसर, जाउलाखेलसम्म लगे । त्यहाँ जबरजस्ती करणी उद्योगमा किटानी जाहेरी दिने सल्लाह भयो । पहिलो दिन मौखिक उजुरी मात्र दिएर फर्किए । सोमबार लिखित जाहेरी दिएपछि प्रहरीले अस्पतालबाट झालाई पक्राउ गरेर हिरासतमा राख्यो ।
ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईकाअनुसार सोमबार पक्राउ गर्दा कार्यालय समय सकिएकाले उनीमाथि अनुसन्धानका लागि म्याद थप हुन पाएन । मंगलबार अदालतमा उपस्थित गराएर म्याद लिई विस्तृत अनुसन्धान गर्ने प्रहरी तयारी छ । उनीविरुद्ध दुई मुद्दा आकर्षित हुनसक्ने प्रहरीले जनाएको छ । मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम जबरजस्तीकरणी उद्योग र दफा २२३ को कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने कसूरमा मुद्दा चल्न सक्छ ।
पहिलो कसूरमा १८ वर्षभन्दा बढी उमेरकी महिला भएकाले ७ देखि १० वर्ष कैद सजाय हुनसक्छ । तर, दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधा मात्र सजाय हुने भनिएको छ । यस अनुसार ३ वर्षदेखि ५ वर्षको कैद सजाय हुनसक्छ ।
दोस्रो मुद्दामा आरोप पुष्टि भए थप चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । अघिल्लो वर्ष १ भदौदेखि जारी अपराध संहिताले लिंगबाहेक अन्य वस्तु योनीमा प्रवेश गराए पनि जबरजस्ती करणी हुने मानेको छ ।