नेता रावल : चाडबाडले सबै जातिलाई एकताबद्ध बनाउँछ
(कैलाली) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताउनुभएको छ ।
नेता रावलले दशैँ, तिहार तथा छठपर्वको शुभकामना दिनुहुँदै सबै जातजातिमा भाइचाराको सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउने र जातीय सद्भाव कायम रहने विश्वास व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले गोदावरी नगरपालिका–६ स्थित आफ्नो निवासमा आइतबार आयोजना गरेको दशैँ–तिहार तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै नेता रावलले सबै जातजातिले एकताबद्ध भएर लागेमा देश विकासले गति लिने बताउनुहुँदै थारू, पहाडी, दलित, जनजातिलगायत सबै जातिले हातेमालो गरी देश विकासमा लाग्न आग्रह गर्नुभयो ।
नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले विकासका कामसँगै विभिन्न जातजातिले मनाउने चाडपर्वमा एकता हुन जरुरी रहेको औँल्याउनुभयो ।
प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले सबै जाताजातिले एकताबद्ध भएर लाग्नुपर्छ भन्ने सन्देश दिन प्रदेशका शीर्षनेता बोलाएर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा सुदूरपश्चिम सहइन्चार्ज खगराज भट्ट, भानुभक्त जोशी, प्रदेश अध्यक्ष कर्ण थापालगायतको सहभागिता थियो ।