आन्तरिक बजार चुस्त नबनाई विदेशी लगानी आउँदैन : चीनको समाज नेपाललाई सुझाव
काठमाडौं : नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको प्रतिनिधिमण्डलले विदेशी लगानी भित्र्याउन आन्तरिक बजार चुस्त बनाउनुपर्ने सुझाव दिएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिसँग बिहीबार सिंहदरबारमा भएको छलफलमा चिनियाँ उपमन्त्री ताङजुङले आन्तरिक बजार राम्रो नभएसम्म विदेशी लगानीको अर्थ नहुने बताएका हुन्।
ताङजुङले आफ्नो मन्त्रालयले बजार अनुगमन, उपभोक्ता हित संरक्षण, औषधि र खाद्य पदार्थको गुणस्तर अनुगमन लगायतका काम गर्ने उनले बताए। 'हामीले चीनमा व्यापार प्रवर्द्धन र उपभोक्ता हित संरक्षणमा ध्यान दिएका छौँ', उनले भने, 'गुणस्तरमा कुनै सम्झौता गर्दैनौँ। विदेशी लगानी भित्र्याउन आन्तरिक बजार चुस्त र राम्रो हुनुपर्छ। बजार अनुगमन प्रभावकारी हुनुपर्छ। अनि मात्रै विदेशी लगानीको प्रतिफल पनि देखिन्छ।'
राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङजुङले यसो भनिरहँदा समितिका सभापति विमल श्रीवास्तवले चीन भ्रमण गराउनुपर्ने आशय व्यक्त गरेका थिए।
मन्त्री ताङजुङले व्यापार तथा बजार अनुगमनको अवस्था हेरेर गत वर्षभन्दा विश्व बैंकले बजार व्यवस्थापनको अवस्थामा हेरेर ४६ औँ स्थानमा राखेको बताए। उनले गत वर्षभन्दा यो वर्ष १५ स्थान फड्को मारेर चीन ३१ औँ स्थानमा आएको उनले उल्लेख गरे। 'हामीकहाँ उपभोक्ताको अधिकार संरक्षण गर्ने एउटा संयन्त्र छ। जनताको तहमा उपभोक्ता अधिकार मञ्च पनि छ', उनले भने, 'यहाँ संसदीय समितिले पनि हेर्दोरहेछ। यसबाट हामीले पनि केही सिक्न पायौँ।'
यता समितिका सभापति विमलप्रसादस श्रीवातस्तवले भने घुमाउरो भाषामा समितिका सदस्यलाई चीन भ्रमण गराउनुपर्ने धारणा राखेका थिए। 'चीनको राज्य प्रशासन तथा बजार अनुगमन मन्त्रालयसँगको सम्बन्ध र कामबारे बुझ्न एकअर्काको भ्रमण गरौँ', उनले भने, 'एकअर्काका अनुभव आदान प्रदान पनि हुन्छ।' उपमन्त्री ताङजुङले प्रत्युत्तरमा स्वागत गर्न तयार रहेको बताए। 'हाम्रो मान्यता पनि नेपाल र चीनबीचको सम्बन्ध राम्रो गरौँ भने हो', उनले भने। समिति सदस्य सांसद मुकुन्द न्यौपानेले आफ्नो समितिले गर्ने कामबारे उपमन्त्रीको टोलीलाई जानकारी गराएका थिए। 'चाडवाडमा उपभोक्ता ठगिने सम्भावना हुन्छ, त्यसैले बजार अनुगमन गर्छौं', उनले भने, 'सरकारले तोकेको मूल्य भन्दा तलमागथि गरेको छ कि भनेर हेर्छौँ। सरकारलाई निर्देशन दिन्छौँ, अनि काम हुन्छ।'