विद्यासुन्दर : अहिले देशै हल्लाएको फेसबुकवालाले हो
(काठमाडौं) संघीय राजधानी काठमाडौंको मेयरमा चुनाव लड्न तत्कालीन एमालेका चर्चित नेताहरु लामवद्ध थिए । तर, पार्टीको नेतृत्वले यसअघि वडाध्यक्षका रुपमा रहेका ‘लो प्रोफाइल’ का नेता विद्यासुन्दर शाक्यलाई पत्यायो । र, उनी चुनाव जितेर महानगरपालिकाको मेयर बन्न सफल पनि भए ।
शाक्य कांग्रेसका राजुराज जोशीलाई करिब २० हजार मतले हराएर काठमाडौं महानगरको मेयर बने ।
मेयरमा निर्वाचित भएदेखि नै शाक्यलाई विवादै विवादले लखेटिरहेको छ । जनप्रतिनिधिलाई मोबाइल बाँड्नेदेखि आफ्ना लागि महंगो गाडी झिकाउनेसम्मका निर्णयबाट उनको सुविधाभोगी छवि बन्न पुग्यो ।
सामाजिक सञ्जालमा अत्यधिक गाली खानेमा उनी पनि पर्छन् ।
यद्यपि, पछिल्लो समय शाक्यको चर्चा केही मत्थर भएको छ । अनलाइनखबरसँगको कुराकानीमा उनले काठमाडौंमा आफ्नो लोकप्रियता पुनस्र्थापित भइसकेको सुनाए । आफूलाई असफल बनाउन सुनियोजित मिसन सञ्चालन गर्नेहरु आफैं असफल हुन थालेको शाक्यको निश्कर्ष छ ।
हिजो र आजको डाटा हेर्नुस । त्यो बेलाको फोटो र अहिलेको दृश्य दाँज्नुस् । हिजो आँखा हेर्न सक्ने स्थिति थिएन । नजिकैको गाडीको नम्बर प्लेट पनि पढ्न सकिन्नथ्यो । अहिले त्यति ‘भिजिविलिटी’ त छ नि । एक किलोमिटर टाढासम्म गाडी देख्न सकिन्छ
त्यसो त अत्यधिक आलोचनाले गर्दा हुन सक्छ, मेयर शाक्यले आफ्नो कार्यशैली केही बदलेका पनि छन् । उनी पहिलेभन्दा संयमित र व्यवस्थित लाग्छन् । अनाइनखबरका लागि चिरञ्जीवी पौडेल र रोयल आचार्यसँग करिब एक घन्टा कुराकानी गर्ने क्रममा उनी विवादित अभिव्यक्तिबाट बच्न निकै सचेत देखिए ।