जापान भ्रमण फलदायी, राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
(काठमाडौं) राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले स्वागत गर्नुभयो ।
राष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको जापान भ्रमण फलदायी भएको बताउनुभयो । उहाँले यस भ्रमणले द्विपक्षीय सहयोग तथा सम्बन्ध बिस्तारमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्नुभयो ।
जापानका सम्राट् नारुहितोको गद्दी आरोहणमा सहभागी हुनुभएका राष्ट्रपति भण्डारीले त्यस अवसरमा जापान सरकारलाई धन्यवाद दिनुका साथै जापानका सम्राट्, सरकार तथा जापानका जनतालाई बधाई एवं सुख शान्ति एवं समृद्धिको शुभकामना प्रकट गर्नुभएको गृहमन्त्री थापाले जानकारी दिनुभयो ।
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्त रुप दिन सरकारले विकासका लागि स्पष्ट नीति, लगानीमैत्री वातारवरण बनाउन चालिएका कदमबारे प्रकाश पार्नुभएको थियो ।
हालै जापानमा आएको आँधी बेहरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले समवेदना प्रकट गर्नुभएको सुनाउनुभयो । गृहमन्त्री थापाका अनुसार राष्ट्रपति भण्डारीले त्यस अवसरमा नेपालले गरेको ऐतिहासिक, राजनीतिक स्थायित्वबाट सामाजिक विकासका लागि अनुकूल अवस्था सिर्जना भएको बताउनुभएको थियो ।
नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेकाले जापानको पुँजी प्रविधि सीप र ज्ञान नेपालका लागि महत्वपूर्ण हुने भन्दै राष्ट्रपति भण्डारीले व्यापार तथा लगानी र पर्यटन प्रवर्द्धनको क्षेत्रमा दुई देशबीच सहकार्य हुनसकेमा जनस्तरको सम्बन्धमा विस्तार हुन जाने विश्वास व्यक्त गर्नुभएको थियो ।
जापान सरकारको निमन्त्रणालाई स्वीकार गरी जापानका सम्राट्को गद्दी आरोहण समारोहमा सहभागिता जनाउनुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रपति भण्डारीलाई धन्यवाद दिनुभएको गृहमन्त्री थापाले सुनाउनुभयो ।
राष्ट्रपति भण्डारीसँग जापानका प्रधानमन्त्रीले गर्नुभएको भेटमा उहाँले नेपाल–जापानबीच रहिआएको सुमधुर सम्बन्ध र नेपालको सामाजिक आर्थिक विकासमा जापानको सदैव साथ रहने विश्वास दिलाउनुभएको थियो ।
राष्ट्रपति भण्डारीको जापान भ्रमणका अवसरमा त्यहाँस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरु त्यहाँ अध्ययनरत विद्यार्थी, गैर आवासी नेपाली, जापानी सांसद, जापानका उच्च अधिकारीहरु र सुभेच्छुक विभिन्न सङ्घसंस्थाहरु सहभागी थिए । दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै राष्ट्रपति भण्डारीले नेपालको सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा जापान सरकारको निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
भ्रमणकै सिलसिलामा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा उहाँले राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको गृहमन्त्री थापाले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुभएको थियो । उहाँ कात्तिक ३ गते जापानी सम्राट् नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्माबाट जापानतर्फ प्रस्थान गर्नु्भएको थियो ।