विद्युत महसुल बुझाउनै सकस
(घोराही) आइतबार विद्युत कार्यालय घोराही वितरण केन्द्रमा विद्युतको महसुल बुझाउन आएका घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने, 'हामीले सरकारलाई पैसा बुझाउँछौँभन्दा पनि यति सास्ती खेप्नुपर्ने ?' विद्युत कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उनको आक्रोश झन् बढेको थियो। '५० रुपैयाँ टेम्पुलाई तिरेर आएको जाँदा ५० तिर्ने हो। १ सय रुपैयाँ विद्युत महसुल बुझाउन अरु १ सय रुपैयाँ खर्च हुन्छ, अझ दिनभरिको समय पनि त्यत्तिकै बित्ने गर्दछ।'
उनले गाउँमा किराना पसलको ढोका बन्द गरेर महसुल बुझाउन आएको हुँदा रकमभन्दा पनि एक महीनाको विद्युत महसुल बुझाउन एक दिन पूरै खर्च गर्नुपर्दा आफूजस्ता हरेक सेवाग्राहीलाई अन्याय भएको बताए। घोराही–१ रामपुरबाट विद्युत महसुल बुझाउन आएकी हरिमाया केसीको व्यथा पनि उस्तै थियो। गाडी चढेर १२ बजे कार्यालयमा आएकी उनले ३ बजे मात्रै पालो पाएकी थिइन्। लगातार तीन घण्टासम्म लाइनमा बस्दा निकै थकाइ महशुस भएको उनले सुनाइन्।
कार्यालयले दुई महीनाभन्दा बढी समय विद्युत नबुझाउनेको फटाफट लाइन काट्ने अभियान थालेको हुदाँ भीड बढेको हुनसक्ने जनाएको छ। विद्युत कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म समयमा विद्युत नतिर्ने घोराही १४ र १५ नं वडाका करीब तीन दर्जन ग्राहकको लाइन काटिसकेको छ। कार्यालयका सूचना अधिकृत बमबहादुर बुढाथोकीले अब अभियानअन्तर्गत नियमित महसुल नबुझाउनेको लाइन काट्न शुरु गरिसकेको हुँदा महसुल बुझाउन छुटेकाहरु पनि तिर्न आउने क्रम बढेको बताए।
बङ्गलाचुलीबाट विद्युत महसुल तिर्न आएका रुद्रबहादुर घर्तीको समस्या झन् धेरै थियो। परिवारसहित घोराहीमा किनमेलका लागि आएका उनलाई दिनभरि महसुल बुझाउने लाइनमा बस्नुपर्दाको सकस कम्ता थिएन। दिनभरि लाइनमा बस्नुभन्दा छिटो पालो आए बरु दोब्बर पैसा बुझाउने थिए भन्ने खालको आशय उनले पटक–पटक व्यक्त गरिरहेका थिए।
विद्युत कार्यालय घोराही वितरण केन्द्रमा घोराही उपमहानगर र बङ्गलाचुली गाउँपालिका गरी करीब ३६ हजार विद्युतका ग्राहक छन्। विद्युत ग्राहकको सङ्ख्याको आधारमा भन्दा पनि प्रत्येक दिन विद्युत कार्यालयमा एक हजार दुई सयभन्दा बढी ग्राहक महसुल बुझाउनका लागि आइपुग्छन् तर कार्यालयमा विद्युत बुझाउने काउन्टर भने दुईवटा मात्रै छ। यसले गर्दा महसुल तिर्नेको भीडभाड हिजोआज सधैँजसो हुने गरेको सेवाग्राही बताउँछन्। काउन्टरदेखि निकै परसम्म महिला–पुरुषको छुट्टाछुट्टै लाइन लागेका हुन्छन्।
यस्तै विद्युत कार्यालयमा बढेको भीडको परिणाम पनि लाइन काट्ने अभियान भएको उनले बताए। 'अब कार्यालयले मासिक विद्युत महसुल बुझाउनुपर्ने र दुई महीनाभन्दा बढी समय महसुल नबुझाए लाइन काट्ने अभियान थालेपछि भीड बढेको हो', उनले भने, 'हामीले नियमित विद्युत नबुझाउनेलाई कारवाहीको दायरामा ल्याउन थालेपछि सेवाग्राही तिर्नका लागि आउने गरेका छन्।'
केही समय अगाडिसम्म चार काउन्टरबाट विद्युत महसुल उठाइरहेको कार्यालयमा अहिले दुई काउन्टर बन्द भएका छन् भने दुईबाट मात्र सेवा प्रवाह भइरहेको छ। सूचना अधिकृत बुढाथोकीले दिएको जानकारीअनुसार एक कर्मचारीको सरुवा भएपछि र अर्का एक बिरामी भएर उपचारका लागि गएपछि बाध्यतावश दुई काउन्टर बन्द गर्नुपरेको बताए।
पछिल्लो समय विद्युत कार्यालयले कम्प्युटर प्रणालीमार्फत विद्युत महसुल काट्ने र बुझ्ने गर्न थालेपछि काउन्टरमा तालीमप्राप्त कर्मचारीले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ। अहिले विद्युत कार्यालयमा ५६ कर्मचारी कार्यरत छन्।