आइओएममा विद्यार्थीद्वारा तालाबन्दी
काठमाण्डौ : माग पूरा नगरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)को डीन कार्यालय र परीक्षा शाखामा तालाबन्दी गरेको छ। संघर्ष समिति संयोजकसमेत रहेका महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियू सभापति डा. मिलन गैरेको नेतृत्वमा गएको टोलीले आइओएमको डीन कार्यालय र परीक्षा शाखामा तालावन्दी गरेका हुन्। समितिले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कार्वाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएअनुसारको ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्नेलगायत ८ सूत्रीय माग राखेका छन्।
काठमाडौं विश्वविद्यालय, बिपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा समेत आफूहरूले तालाबन्दी गर्ने डा गैरेले बताए। ‘विद्यार्थी भर्ना गर्ने बेला आएको छ', उनले भने 'हामीले राखेको माग पूरा भएको छैन। समितिले ७२ घण्टामा माग पूरा गर्न भनेर दिएको समय सीमा सकिएपछि हामीहरू बाध्यभएर तालाबन्दीमा उत्रिएको हौँ।' आइओएमसहित सरकारले चाहेमा आफूहरूद्ये उठाएको माग पूरा गर्न सजिलै सक्ने तर त्यसो नभएकाले आफूहरूले बाध्यभएर तालावन्दी गरेको समेत डा. गैरेले बताए। 

रासस