नेपालको झण्डा बोकी कालापत्थरसम्म साइकल यात्रा
जनकपुरधामका रञ्जित साहले नेपालको झण्डा र साइकल बोकेर ५ हजार ६ सय ४३ मिटर अग्लो कालापत्थर र ५ हजार ३ सय ६४ मिटर उचाइको सगरमाथा आधार शिविरको सफल यात्रा पूरा गरेका छन् ।
साइकल लिएर भदौ ५ मा जनकपुरधामबाट निस्केका उनी भदौ २७ मा आधारशिविर र भदौ २८ गते कालापत्थर पुगेका थिए ।
भदौ ९ गते सागरमाथा आधार शिविरको लागि साईकल यात्रामा निस्केका ३२ वर्षीय रञ्जित साह सो स्थल घुमेर जनकपुरधाम फर्केका छन् । जनकपुरधाम फर्केर उनले जानकी मन्दिरमा पूजापाठ गरे।
१८ दिन ७ घण्टाको यात्रा तय गर्दै उनले आधार शिविरमा पुगेका थिए । ‘तराई–पहाड़–हिमाल, हाम्रो मातृ भूमि नेपाल’ मूल नाराका साथ नेपाल भ्रमण वर्ष २०२० को सफलताको लागि साइकल यात्रामा निस्केका रञ्जित गत २० गते देखि सल्लेरीबाट कठिन यात्रा तय गर्दै बेस क्याम्प पुगेका थिए । सल्लेरीदेखि कतै साइकललाई बोकेर त कतै डोहो¥याउदै यात्रा गर्दै बेस क्याम्प पुगेका रञ्जितले भने, ‘म पहिलो चरणको शिविरसम्मको यात्रा तय गरे अब केही दिन गाउँ मैं बसेर सागरमाथा जाने तैयारी गर्छु ।’
जनकपुरधामदेखि साईकलमा हिडेका रन्जित खुरकोट, दोलखा, कालिञ्चोक, पुनः दोलखा हुँदै दोलालघाट, काठमाडौं, खुरकोट, घुर्मी, ओखलढुङ्गा, सल्लेरी, लुक्ला, सोलुखुम्बू, थागदिंग, हुंदै गन्तव्यस्थलसम्म पुगेका हुन ।
यात्राको क्रममा कुनै निकायसँग एक रुपैयाँ पनि आर्थिक सहयोग न लिइ सागरमाथा बेसक्याम्पसम्म पुग्ने लक्ष्य बोकेका रञ्जित दोश्रो चरणमा सागरमाथा सम्म साइकलमा जाने योजनामा छन् ।
सामान्य परिवारमा जन्मेका जनकपुरधाम ४ निवासी रञ्जित प्रदेश २ का पहिलो साईकलयात्री साहले सगरमाथा आधार शिविरसम्म साधरण साईकलले यात्रा गरे ।
टाउकोमा नेपाली ढाका टोपी र साईकलमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा लगाएर ‘तराई–पहाड–हिमालको प्रतिनिधित्व गर्दै ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लागेको रञ्जितको यो यात्रालाई जनकपुरवासीले सहासिक कदमको संज्ञा दिएका छन् ।
तेश्रो मधेश आन्दोलनको क्रममा तराई मधेशमा ६ महिना लामो नाकाबन्दी भएपछि उनले हिमाल, पहाड र तराईबीचको सद्भावको लागि भन्दै साइकल यात्रा थालेको उनको भनाई थियो । सोही क्रममा यो पटक उनले सगरमाथाको आधार शिविरसम्म साइलक यात्रा गरेका हुन् ।
जनकपुरधामको बसपार्कस्थित जिरो माइलमा उनको पान पसल छ । उनी यात्रामा नरहेको बेला पान बेच्छन् । रञ्जितले यात्राको क्रममा भोगेका घटनाहरु सम्झिँदै भने ‘यसपालिको यात्रामा मौसमले अत्यन्तै साथ दियो । म प्लास्टिकको सामान्य जुत्ता आकारको चप्पलमै आधार शिविर र कालापत्थर पुगेँ ।’
उनले थपे, ‘यात्राको क्रममा बाटोमा भेटिएका स्थानीयवासी, होटलवाल, सरकारी निकायका कर्मचारी सबैले सहयोग गर्नुभो । म सबैप्रति आभार व्यक्त गर्दछु ।’