काश्मीर संकट विषयमा अमेरिकी चासो, ट्रम्पद्वारा मोदी–इमरानसँग टेलिफोन वार्ता
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग टेलिफोनवार्ता गरेका छन् । पछिल्लो समयमा काश्मीरमा तनाव चुलिएका बेला दुवै देशका प्रधानमन्त्रीसँग टेलिफोन कुराकानी गर्दै ट्रम्पले तनाव कम गर्न आग्रह गरेका छन् ।
उनले आज ट्विट गर्दै भनेका छन्, ‘भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण काश्मीर मुद्दामा तनाव कम गर्ने विषयमा कुराकानी भएको छ । यो अप्ठेरो समय हो, तर राम्रो कुराकानी भएको छ ।’ राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीसँगको कुराकानीमा काश्मीरमा तनाव कम गर्न आग्रह गरेको ह्वाइट हाउसका प्रवक्ता होगन गाइडलीले बताएका छ । जम्मू काश्मीरको विशेष राज्यको दर्जा खोस्ने भारत सरकारको निर्णयपछि यस क्षेत्रमा पुनः तनाव चुलिएको छ ।
रासस