विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा सहित २ जना पक्राउ
काठमाडौं ५ साउन । विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरिएको हो ।महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा गएराति १२स्२० बजे पक्राउ परेको पुष्टि गरे । लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको एसएसपी थापाले जानकारी दियका छन । माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ ।
काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।
माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द ९विप्लव०को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।