हङकङको संसद् भवन कब्जा गर्ने प्रदर्शनकारी हटाउन अश्रुग्यास
हङकङ । हङकङको संसदमा छिरेर तोडफोड गर्ने प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास प्रयोग गरेर बाहिर निकालेको छ ।बेलायतबाट चीनलाई हङकङको सार्वभौमिकता सुम्पिएको २२औं वर्षगाँठको कार्यक्रमकाे बेला प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले विधायक परिषद्को भवन घण्टाैंसम्म कब्जा गरेका हुन् । प्रदर्शनकारीलाई भवन खाली गर्न चेतावनी दिए पनि खाली नगरेपछि सयौंको संख्यामा रहेका प्रहरीले मध्य रातपछि प्रदर्शनकारीलाई हटाएर विधायक भवन नियन्त्रणमा लिएको हो ।
सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङमा केही सातादेखि निरन्तर प्रदर्शन भइरहेको छ ।
लाखौं मानिसले यसअघिको शान्तिपूर्ण प्रदर्शनमा भाग लिएका थिए। हङकङकी प्रमुख कार्यकारी क्यारी लामले स्थानीय समय अनुसार ४ बजे पत्रकार सम्मेलनमा हिंसात्मक रूपमा विधायक कार्यालय तोडफोड गरी प्रवेश गर्ने प्रदर्शनकारीको आलोचना गरेकी छन् ।
र्यालीमा लाखौं मानिस सहभागी थिए । र्याली शान्तिपूर्ण ढंगमा अघि बढिरहेकाे बेला दिउँसो खानाको समयमा दर्जनौं प्रदर्शनकारीले तोडफोड गरेर विधायक परिषद्को भवनमा प्रवेश गरेका थिए ।प्रहरीले बल प्रयोग गरी पक्राउ गर्ने चेतावनी दिए पनि त्यसलाई बेवास्ता गर्दै भवनलाई आफ्नो नियन्त्रणमा लिएका थिए । पछि प्रहरीभित्र प्रवेश गरेपछि सयौं मानिस भागेका थिए ।