गृहमन्त्री अर्यालद्वारा निर्वाचनमा योगदान दिने कर्मचारी र सुरक्षा निकाय सम्मानित
काठमाडौं — ओमप्रकाश अर्याल ले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेका गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सोमबार सम्मान गरेका छन्।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले कर्मचारी तथा सुरक्षाकर्मीलाई प्रशंसा–पत्र प्रदान गर्दै उनीहरूको योगदानको कदर गरेका छन्। सम्मानितमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदिपजंग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू समावेश छन्।
मन्त्री अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सबै सरोकारवालाको महत्वपूर्ण भूमिका रहेको बताए। उनले भने, “निर्वाचन ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भयो, रक्तपात भएन र पुनः निर्वाचन गर्नुपरेन। सामूहिक नेतृत्व र समन्वयको बलले सकारात्मक परिणाम हासिल भएको छ।”
रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले ले पनि केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरू र जिम्मेवार अधिकारीहरूको समन्वयले निर्वाचन सफल भएकोमा सकारात्मक मूल्यांकन गरेका छन्।
कार्यक्रममा उपस्थितले निर्वाचनमा खटिएका सबै तहका कर्मचारी र सुरक्षाकर्मीको सिर्जनशीलता र क्षमताको प्रशंसा गरेका छन्।