निःशुल्क शिक्षा कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट
विद्यालय तहको शिक्षा निःशुल्क र प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संविधानले सुनिश्चित गरेको आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने मौलिक हक कार्यान्वयनको माग गर्दै अधिवक्ता अनिल आचार्यसहितले रिट दायर गरेका हुन् । रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, कानुन मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रलगायत सरकारी निकायलाई विपक्षी बनाइएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रधान कार्यालय तथा उनीहरूद्वारा सञ्चालित विद्यालयहरूलाई पनि विपक्षी बनाइएको छ ।
संविधानको धारा ३१ ले निःशुल्क शिक्षाको मौलिक हक सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको निवेदकहरूको दाबी छ । सेना, प्रहरी तथा सशस्त्र प्रहरीका कल्याणकारी कोषबाट सञ्चालित विद्यालय, बुढानीलकण्ठ स्कुलसहित विभिन्न विद्यालयले विभिन्न शीर्षकमा शुल्क असुलिरहेको विषय पनि रिटमा उठाइएको छ ।
निवेदकहरूले नयाँ शैक्षिक सत्र २०८४ वैशाख सुरु हुनुअघि नै विवादको टुङ्गो लगाउन माग गरेका छन् । अन्तिम फैसला आउन समय लाग्न सक्ने भन्दै त्यस अवधिसम्मका लागि अन्तरिम आदेश जारी गर्न र मुद्दालाई अग्राधिकार दिनसमेत उनीहरूले अदालतसमक्ष आग्रह गरेका छन् ।