सभामुख अर्याल र कतारी राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार भएको भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच कायम मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्य गर्नुपर्ने बताए ।
भेटमा कतारी राजदूत अलअन्सारीले नेपाल–कतार सम्बन्ध थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताएका छन् । सभामुख अर्यालको सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।