चलचित्र जाँचमा हाइब्रिड मोडेल अपनाउन सकिने सञ्चारमन्त्रीको भनाइ
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँच तथा वर्गीकरणका लागि हाइब्रिड मोडेल अपनाउने विषयमा छलफल गर्न सकिने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
मन्त्री तिमिल्सिनाले चलचित्रको वर्गीकरण र सेन्सर दुवैको महत्त्वलाई ध्यानमा राखेर मिश्रित प्रणालीबारे छलफल गर्न सकिने बताए । उनले भारतमा हाइब्रिड मोडेल तथा अस्ट्रेलिया र बेलायतमा उमेर समूहका आधारमा चलचित्र वर्गीकरण गर्ने अभ्यास रहेको उल्लेख गरे ।
त्यस्तै, उनले चलचित्र विकास बोर्डको नेतृत्व, अधिकार र संरचनालाई संस्थाको आवश्यकता तथा कार्यक्षमताका आधारमा निर्धारण गर्नुपर्ने बताए ।
चलचित्र क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । चलचित्र विधेयक, २०८१ माथि हालसम्म १२२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।