ढोरपाटन उपत्यका राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडियो
बागलुङ । जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत् प्रसारण लाइन गत बिहीबारदेखि नियमित सञ्चालनमा आएको हो।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीका अनुसार प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मतपछि विद्युत् आपूर्ति सुरु गरिएको हो। प्राधिकरणको १८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको करिब ३५ किलोमिटर लामो प्रसारण लाइन सञ्चालनमा आएसँगै बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन्।
यसअघि लघुजलविद्युत् र सौर्य ऊर्जामा निर्भर रहेको ढोरपाटन क्षेत्रमा मौसम प्रतिकूल हुँदा विद्युत् आपूर्ति अवरुद्ध हुने र सञ्चार सम्पर्कसमेत विच्छेद हुने समस्या थियो। राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेपछि स्थानीयको दैनिक जीवन सहज हुनुका साथै लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या पनि समाधान भएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो।
विद्युत् सञ्चालनमा आएसँगै निसेलढोर क्षेत्रमा समेत विद्युत् विस्तारको बाटो खुलेको छ। स्थानीय उपभोक्ताले विद्युत् जडानका लागि बुर्तिबाङस्थित नो लाइट शाखामार्फत आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।
करिब तीन हजार मिटर उचाइमा रहेको ढोरपाटनमा विद्युत् पहुँच विस्तार भएपछि पर्यटन, उद्योग तथा आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ढोरपाटनमा गत आर्थिक वर्षमा मात्रै ३७ हजार पर्यटक पुगेका थिए। पर्यटकको आगमनसँगै विद्युत्को मागसमेत बढ्दै गएको छ।