नाइजरमा सुरक्षा गार्डको शिविरमा सशस्त्र आक्रमण, १३ सैनिकको मृत्यु
पश्चिमी नाइजरको सानाम क्षेत्रमा राष्ट्रिय सुरक्षा गार्डको शिविरमाथि सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा १३ सैनिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
नाइजरको रक्षा मन्त्रालयका अनुसार बिहीबार भएको आक्रमणमा ठूलो संख्यामा भारी हतियारसहित आएका आक्रमणकारी संलग्न थिए। मन्त्रालयले सरकारी टेलिभिजनमार्फत जारी गरेको वक्तव्यमा घटनालाई ‘आतंकवादी आक्रमण’ भनेको छ।
मन्त्रालयका अनुसार सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा केही आक्रमणकारी मारिएका छन्। साथै उनीहरूका सैन्य तथा आश्रय संरचनासमेत नष्ट गरिएको छ। आक्रमणकारीको खोजी तथा पक्राउका लागि सुरक्षा कारबाही जारी रहेको मन्त्रालयले जनाएको छ।
स्थानीय सञ्चारमाध्यम एक्टु नाइजर र सुरक्षा स्रोतका अनुसार आक्रमण स्थानीय समयअनुसार बिहान करिब ५ बजे भएको थियो।
सानाम पश्चिमी नाइजरको तिलाबेरी क्षेत्रमा पर्छ। यो क्षेत्र मालीको सीमासँग जोडिएको छ। यहाँ सशस्त्र समूहहरूले सुरक्षा बलमाथि नियमित आक्रमण गर्दै आएका छन्। यद्यपि, पछिल्लो आक्रमण कसले गराएको हो भन्ने खुल्न सकेको छैन।
यो घटना नाइजरको रक्षा मन्त्रालयले दक्षिणपूर्वी डिफा क्षेत्रमा बोको हरामले गराएको आक्रमणमा ११ सैनिक मारिएको जानकारी दिएको दुई दिनपछि भएको हो। पछिल्ला घटनाले नाइजरमा सुरक्षा चुनौती थप गम्भीर बनेको देखिएको छ।