साउदी अरबमा आक्रमणमा परी एक नेपालीको मृत्यु, तीन जना घाइते
काठमाडौं । साउदी अरबमा पछिल्लो समय भएका आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा एक नेपालीको मृत्यु भएको र तीन जना घाइते भएको जनाएको हो। घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार नोभेम्बर २४ मा राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा ११ जना घाइते भएका थिए। घाइतेमध्ये तीन जना नेपाली नागरिक रहेको मन्त्रालयले जनाएको छ।
यद्यपि, मृत्यु भएका नेपालीको परिचय तथा उनको मृत्यु पछिल्लो आक्रमणसँग सम्बन्धित भए–नभएको मन्त्रालयले खुलाएको छैन।
मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, नागरिक तथा सार्वजनिक पूर्वाधारलाई निशाना नबनाउन र द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।