भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सुरु
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ।
बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु गरिएको हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरेकी छन्।
योजनाअन्तर्गत बालिकाले १८ वर्ष नपुग्दासम्म आमासँगै परिवारमा बसेर मासिक १७ हजार ५०० रुपैयाँ सहायता पाउनेछिन्। बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकालाई पनि दीर्घकालीन सहयोग उपलब्ध गराइने मन्त्री वादीले बताइन्।
उनले स्थानीय तहको सिफारिस र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयबिना बालबालिकालाई बालगृह वा संरक्षण केन्द्रमा लैजान नपाइने स्पष्ट पारिन्।
मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यसमध्ये एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ।
सरकारले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गर्ने जनाएको छ।