पूर्व मुख्यसचिव अर्यालको घरमा सीआईबीको खानतलासी, अनुसन्धानका लागि कागजात नियन्त्रणमा
काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्यालको काठमाडौंस्थित घरमा प्रहरीले खानतलासी गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको हेपाली हाइटस्थित अर्यालको घरमा खानतलासी गरी अनुसन्धानका लागि केही कागजात नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले अर्यालको घरबाट अनुसन्धानका लागि केही कागजात नियन्त्रणमा लिइएको रातोपाटीलाई जानकारी दिएका छन्।
भारतमा पक्राउ परेका अर्याललाई बिहीबार काठमाडौं ल्याइएको थियो। मेडिकल परीक्षणपछि उनलाई महाराजगन्जस्थित सीआईबीको हिरासतमा राखिएको छ।
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुल गरी विदेश पठाएको कसुरमा अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालको संलग्नता देखिएको प्रहरीको दाबी छ। यसअघि मंसिर २ गते प्रहरीले पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा यातायात विभागका महानिर्देशक राजीव पोखरेलसहितका अधिकारीलाई पक्राउ गरेको थियो।
प्रहरी अनुसन्धानअनुसार मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा असुल गरिएको रकम मलेसिया पठाउन चार पटक मन्त्रिस्तरीय निर्णय भएको थियो। ती निर्णय हुँदा अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए।
मेडिकल स्क्रिनिङका नाममा श्रमिकलाई अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन अर्यालसहितका अधिकारीको संलग्नतामा अनुमति दिइएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सोही प्रकरणमा अर्यालको भूमिकाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।