ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले ईनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो ।
काठमाडौं जिल्ला अदालतका एक अधिकृतका अनुसार तीनै जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
ईनमसँग कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए । श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
प्रहरीले ईनमविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको छ । त्यस्तै, श्रेष्ठ र भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनमलाई पक्राउ गरेको थियो । त्यसपछि उनीसँगको सम्बन्ध र सम्पर्कका आधारमा श्रेष्ठ र भट्ट पनि पक्राउ परेका थिए ।