हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परेर दुई तेल ट्याङ्करमा आगलागी
मध्यपूर्वमा तनाव चर्किरहेका बेला ओमानको खसाब बन्दरगाह नजिकै हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परेर दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानले दाबी गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले ती ट्याङ्करले ‘अनधिकृत’ जलमार्ग प्रयोग गर्न खोज्दा विस्फोट भई आगलागी भएको जनाएको हो ।
आईआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार पहिचान नखुलेका दुवै ट्याङ्करले आफ्नो नेभिगेसन प्रणाली बन्द गरेर गोप्य रूपमा हर्मुज जलक्षेत्र पार गर्ने प्रयास गरेका थिए ।
इरानको सरकारी समाचार संस्था प्रेस टीभीका अनुसार समुद्री धरापमा परेका ट्याङ्करमध्ये एउटामा २० लाख ब्यारेल कच्चा तेल लोड गरिएको थियो । आईआरजीसीले ती जहाजले अमेरिकी सेनाका लडाकु विमानको आडमा लुकीछिपी जलक्षेत्र पार गर्न खोजेको आरोपसमेत लगाएको छ ।
आईआरजीसीका अनुसार अनधिकृत जलमार्गमा बिछ्याइएका समुद्री धरापमा ठोक्किएपछि दुवै जहाजमा विस्फोट र आगलागी भएको थियो । त्यसपछि ती जहाजको आवागमन रोकिएको दाबी गरिएको छ ।
पछिल्ला केही सातायता इरानको अनुमति नलिई हर्मुज जलक्षेत्र पार गर्न खोज्ने पानीजहाजमाथि आक्रमण र अवरोधका घटना बढ्दै गएका छन् ।
विश्वको तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने रणनीतिक समुद्री मार्ग हर्मुजमा बढ्दो तनावले अन्तर्राष्ट्रिय समुद्री व्यापार र विश्व ऊर्जा सुरक्षामाथि थप जोखिम उत्पन्न गरेको छ । यद्यपि, दुई ट्याङ्करमा भएको आगलागीबारे इरानले गरेको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।