पठाओको नाममा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ
पठाओमार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुको सामान लिएर फरार हुने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन् ।
काठमाडौंको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर प्रयोग गरी उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान पुर्याइदिने बहाना बनाउँदै सामान लिएर फरार हुने गरेको जनगुनासो आएपछि प्रहरीले उनको खोजी गरेको थियो ।
प्रहरी प्रभाग गोंगबु र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले बिहीबार काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कबाट पोखरेललाई बा.६३ प.८३४३ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको छ ।