जग्गा कीर्ते प्रकरणमा मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा वास्तविक जग्गाधनीको जग्गा कीर्ते गरी अर्काको नाममा दर्ता गराएको आरोपमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर हुनेमा तत्कालीन मालपोत प्रमुख पनिलाल यादव, नायब सुब्बा टुकराम कोइराला, खरिदार राजेश कुमार झा, तत्कालीन वडा अध्यक्ष कपिलेदेव चौधरी, वडा सचिव राम गुलाम राय तथा किशोरी धामी थारू र भोला धामी थारू रहेका छन् ।
आयोगका अनुसार साविक सोकनाहा गाविस वडा नम्बर २(ख) स्थित कित्ता नम्बर ६२ को ११ कठ्ठा २ धुर जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा थियो । तर, कर्मचारी र भूमाफियाको मिलेमतोमा झुट्टा विवरण तयार गरी उक्त जग्गा किशोरी धामी थारूको नाममा दर्ता गराइएको थियो ।
सरकारी स्रेस्ता र कागजात हेरफेर गरी नक्कली जग्गाधनी कायम गरेको अनुसन्धानबाट खुलेपछि आयोगले सातै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ । आयोगका सहायक प्रवक्ता पर्वत गिरीका अनुसार उनीहरूमाथि मुख्य कसुरदार तथा मतियारका रूपमा आरोप लगाइएको छ ।