बाढी प्रभावित समुदाय र स्वास्थ्य क्षेत्रमा अमेरिकाको ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग
काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउन तथा नेपालको स्वास्थ्य सुरक्षा र पोषण क्षेत्र सुदृढ बनाउन ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी बाढीपछिको पुनर्लाभ, मानवीय सहायता समन्वय तथा स्वास्थ्य र पोषणसम्बन्धी सहयोगबारे छलफल गरेकी छन् ।
अमेरिकी सहयोगअन्तर्गत बालबालिका तथा जोखिममा रहेका समुदायलाई लक्षित गरी आपत्कालीन खानेपानी, सरसफाइ, स्वच्छता र बाल संरक्षण सेवाका लागि अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय प्रतिकार्य कोषबाट युनिसेफलाई २५ लाख अमेरिकी डलर उपलब्ध गराइएको छ ।
त्यस्तै, बाढीबाट बढी प्रभावित जिल्लाहरूमा खोप सेवा र खोप भण्डारण व्यवस्था पुनःस्थापना गर्न अमेरिकाले १ लाख ७६ हजार अमेरिकी डलर सहयोग गरेको छ ।
यसका अतिरिक्त, ‘अमेरिका फर्स्ट’ विश्वव्यापी स्वास्थ्य रणनीतिअन्तर्गत मातृ तथा बाल स्वास्थ्य र पोषण सुधारका लागि युनिसेफमार्फत १ करोड २० लाख अमेरिकी डलर लगानी भइरहेको छ । उक्त सहयोगले स्तनपान प्रवर्द्धन, शिशु आहारसम्बन्धी सेवा तथा आवश्यक भिटामिन र खनिजयुक्त पूरक आहारको प्रयोगलाई प्रोत्साहन गर्ने जनाइएको छ ।
अमेरिकी सहयोगमा नेपालमा पोषणसम्बन्धी अवस्थाको पहिचान र कार्यक्रम निर्माणमा सहयोग पुर्याउन राष्ट्रिय सूक्ष्म पोषकतत्त्व सर्वेक्षणसमेत सञ्चालन भइरहेको छ ।
कार्यवाहक राजदूत बोल्डिनले बाढीपछिको तत्कालीन प्रतिकार्य, प्रभावित समुदायसम्म सहायता पुर्याउन गरेको प्रयास र नेपालमा पोषण क्षेत्रमा लामो समयदेखि कायम साझेदारीका लागि युनिसेफलाई धन्यवाद दिएकी छन् ।