नवलपरासीमा बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप जिप र ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
गएराति बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १० बजेर ३५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ। रिफर गरिएकामध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ।
अन्य घाइतेको अवस्था मध्यम तथा सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका पाँच जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका छन्।