कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ। मंसिर ८ गतेदेखि सुरु भएको बैठक केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले आज बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्न लागेको हो।
कांग्रेसका अनुसार बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले बैठकमा आफ्नो धारणा राखिसकेका छन्। बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा विचार राखिरहेका छन्।
यसैबीच, बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सुकुमबासी परिवारको व्यवस्थापनका विषयमा सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको थियो।
कांग्रेसले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमबासी परिवारलाई अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) बाट समेत हटाउने सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ।
सरकारले सुकुमबासीका घर भत्काएर व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म उनीहरूलाई अनिश्चिततामा राखेको कांग्रेसको भनाइ छ। यस्तो अवस्थामा अस्थायी आश्रयसमेत खोस्न खोज्नु गलत भएको पार्टीले जनाएको छ।
राज्य नागरिकको अभिभावक भएको उल्लेख गर्दै कांग्रेसले घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व भएको बताएको छ।
कांग्रेसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग मागसमेत गरेको छ।
बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले आजको बैठकमा पनि विभिन्न राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।