रास्वपाका मकवानपुर जिल्ला उपसभापति थापा पदमुक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समितिले मकवानपुर जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) लाई पदबाट हटाएको छ। रास्वपाका बागमती प्रदेश सदस्य राजु सुनारका अनुसार मंसिर १० गते बसेको प्रदेश समितिको निर्णयअनुसार थापालाई पदमुक्त गरिएको हो। गत जेठमा पाँच वर्षका लागि जिल्ला उपसभापतिमा निर्वाचित भएका थापा नियुक्त भएको छ महिना नपुग्दै पदमुक्त भएका हुन्।
निर्णयपत्रअनुसार मकवानपुर जिल्ला समितिले थापामाथि कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रदेश समितिको पूर्ण बैठकले जिल्ला समिति र प्रदेशस्तरीय छानबिन समितिका प्रतिवेदनमाथि छलफल गरी उनलाई पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो।
निर्णयबारे पार्टीको केन्द्रीय संगठन विभाग र अनुशासन आयोगलाई समेत जानकारी गराइने प्रदेश सदस्य सुनारले बताएका छन्। यद्यपि, थापालाई पदबाट हटाउनुको ठोस कारण भने निर्णयपत्रमा खुलाइएको छैन।
मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद प्रकाश गौतमको सचिवालय सदस्यसमेत रहेका थापा यसअघि पनि विभिन्न विवादमा मुछिएका थिए। गत वैशाखमा रास्वपाका हेटौँडा नगर सदस्य नरहरि चौलागाईंलाई गालीगलौज गरेको भनिएको थापाको अडियो सार्वजनिक भएको थियो।
त्यस्तै, गत भदौमा कैलाश गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिलप्रसाद जोशीलाई अदालत परिसरमै गालीगलौज गरेको र ज्यान मार्ने धम्की दिएको आरोप पनि उनीमाथि लागेको थियो। उक्त घटनापछि गाउँपालिकाले थापामाथि कारबाही गर्न माग गरेको थियो।
तर, थापाले आरोप अस्वीकार गर्दै आफूले जोशीलाई गालीगलौज तथा धम्की नदिएको बताएका थिए। उक्त घटनामा मकवानपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको उपस्थितिमा दुवै पक्षबीच मिलापत्रसमेत भएको थियो। पाँच वर्षे कार्यकालका लागि निर्वाचित जिल्ला उपसभापति थापा विवादहरू सार्वजनिक भएको केही समयपछि नै पदमुक्त भएका छन्।