होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई नहटाउन सरकारसँग कांग्रेस महामन्त्री राणाको माग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले घरबार गुमाएर आश्रय लिइरहेका परिवारलाई उचित व्यवस्थापनबिना हटाउन खोज्नु गलत भएको बताएका छन्।
उनले प्रभावित परिवार कहाँ जाने भन्ने प्रश्न उठाउँदै उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै भएको उल्लेख गरेका छन्।
राणाले प्रभावित परिवारसँग संवाद गरी सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। पुनर्वासको सुनिश्चितता नभएसम्म उनीहरूलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने उनको भनाइ छ।
वैकल्पिक आवासको व्यवस्था नगरी आश्रयस्थलबाट हटाउँदा सुकुम्बासी परिवार थप समस्यामा पर्ने भन्दै उनले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।