बाढीले झोलुङ्गे पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान
काठमाडौं । बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिकाका बासिन्दालाई नदी वारपार गर्न सहज बनाउन बुढीगण्डकी नदीमा तुइन जडान गरिएको छ । तुइन सञ्चालनमा आएसँगै स्थानीयले यसको प्रयोग गर्न थालेका छन् ।
झोलुङ्गे पुल महाशाखाले गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुईवटा तुइन जडान गरेको हो । यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी जोड्ने गरी अर्को तुइनसमेत सञ्चालनमा ल्याइएको थियो ।
तुइनबाट एकपटकमा दुई जनासम्मले नदी वारपार गर्न सक्ने व्यवस्था गरिएको छ । यसको सञ्चालनमा स्थानीय युवाले सहयोग गर्दै आएका छन् ।
तुइन सञ्चालनमा आएपछि केरौँजा, लामाबेँसीलगायत आसपासका क्षेत्रका बासिन्दालाई नदी वारपार गर्न केही सहज भएको छ । तर, तुइनबाट यात्रा गर्दा जोखिम रहेको स्थानीयको गुनासो छ ।
स्थानीय फिरेन्द्र घलेले तुइनबाट नदी वारपार गर्नु जोखिमपूर्ण रहेको भन्दै तत्काल झोलुङ्गे पुल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बाढीले पुल बगाएपछि बाध्य भएर वैकल्पिक व्यवस्थाका रूपमा तुइन प्रयोग गर्नुपरेको स्थानीयको भनाइ छ ।