४ केजी थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले शुक्रबार भारतको उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ गरेको हो।
बङ्गलादेश हुँदै नेपाल आएका चौहानलाई विमानस्थलमा जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ। प्रहरीका अनुसार उनले एयर ड्रायर र कुकिज बिस्कुटको बट्टाभित्र लुकाएर ल्याएको अवस्थामा ४ केजी थाई गाँजा बरामद गरिएको हो।
चौहानको साथबाट एक थान पासपोर्ट र मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौहानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।