साउदी अरबमा भएको आक्रमणमा घाइते एक नेपालीको मृत्यु
साउदी अरबमा भएका पछिल्ला दुई आक्रमणमा परी घाइते भएका चार नेपालीमध्ये एक जनाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (काफ्ड) अन्तर्गतको पब्लिक इन्भेस्टमेन्ट फन्ड टावर र जजान क्षेत्रमा भएका आक्रमणमा परी चार नेपाली घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि रियादस्थित अस्पताल लगिएको थियो।
घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। बाँकी दुई जना अझै उपचाररत रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए। मृतकको शव नेपाल ल्याउन रियादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।
यसैबीच, साउदी अरब लगायत पश्चिम एसियाको पछिल्लो घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको मन्त्रालयले जनाएको छ।
प्रवक्ता क्षेत्रीले समस्याको समाधान शान्तिपूर्ण वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा जनधन, निजी सम्पत्ति तथा सार्वजनिक पूर्वाधारमाथि आक्रमण हुन नहुने बताए।
उनले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्थानीय सरकार तथा नेपाली नियोगले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न र कुनै समस्या परेमा नजिकको नेपाली दूतावास वा नियोगमा सम्पर्क गर्न आग्रहसमेत गरेका छन्।