नेतान्याहुद्वारा आइसेनकोटलाई आलोपालो प्रधानमन्त्रीको प्रस्ताव गर्ने तयारी
इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धनको अनिश्चितता बढिरहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी नेता गादी आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गरेका छन् ।
इजरायली सञ्चारमाध्यमका अनुसार नेतान्याहुले आइसेनकोटसँग सत्ता साझेदारीको प्रस्ताव अघि सार्ने तयारी गरे पनि उनको आफ्नै पार्टी लिकुडभित्र यस विषयमा मतभेद देखिएको छ ।
च्यानल १३ का अनुसार नेतान्याहुले सत्ता साझेदारीको इच्छा सार्वजनिक गर्ने तयारी गरेका छन् भने सार्वजनिक प्रसारक कानले उक्त प्रस्ताव अनौपचारिक माध्यमबाट अघि बढाइने जनाएको छ ।
तर, आइसेनकोट नेतान्याहुको प्रस्तावप्रति सशङ्कित देखिएका छन् । उनले आगामी साता नयाँ सरकार गठन गरी शपथ ग्रहण गराउने तयारीसमेत अघि बढाएका छन् । गठबन्धनका साझेदार डेमोक्रेट्स पार्टीका अध्यक्ष यायर गोलान र इजरायल बेटेनुका अध्यक्ष अभिग्डोर लिबरम्यानको सहमतिबिना लिकुडसँग एकता सरकार गठन नगर्ने आश्वासन उनले दिएका छन् ।
यसैबीच, लिकुडसँग एकता सरकारको पक्षमा रहेका बी’याचड पार्टीका अध्यक्ष नफ्ताली बेनेटले नेतान्याहुसँगको वार्ता टुङ्गिनुअघि आइसेनकोट नेतृत्वमा सरकार गठन भए त्यसको विरोध गर्न सक्ने सङ्केत दिएका छन् ।
राष्ट्रपति आइज्याक हर्जोगले आइसेनकोटलाई सरकार गठनका लागि दिएको २८ दिनको समय आगामी डिसेम्बर ६ मा सकिँदैछ । आइसेनकोट, गोलान र लिबरम्यानका दलसँग नेसेटका कुल १२० सिटमध्ये ३६ सिट छन् । बेनेटको समर्थन जोड्दा चारदलीय गठबन्धनसँग ४८ सिट पुग्छ । सरकार गठनका लागि आवश्यक ६१ सिट पुर्याउन थप राजनीतिक दलहरूको समर्थन आवश्यक छ ।
यसैक्रममा अरब बहुल राम पार्टीले आइसेनकोट नेतृत्वको सरकारलाई समर्थन गर्ने प्रस्ताव अघि सारेको छ । च्यानल १२ का अनुसार पार्टीले मन्त्री पद र अरब समुदायको विकासमा लगानी सुनिश्चित भए चार वर्षे कार्यकालमा सरकारका सुरक्षा निर्णयलाई समर्थन गर्ने प्रस्ताव गरेको छ ।
राम पार्टीले मन्त्रिपरिषद्मा आफ्ना नेताहरूका लागि पद, अरब समुदायमा अपराध नियन्त्रणको योजना तथा अरब र मिश्रित सहरहरूको विकासका लागि पाँचवर्षे कार्यक्रमअन्तर्गत ठूलो लगानी माग गरेको छ ।
यद्यपि, नेतान्याहुसँगको एकता सरकारलाई लिएर आइसेनकोट पक्षभित्र पनि असहमति देखिएको छ । उनको समूहका नेताहरूले लिकुडसँगको सत्ता साझेदारीले सैन्य रिजर्भ सैनिकहरूको बोझ कम गर्ने बेनेटको तर्कमाथि प्रश्न उठाएका छन् ।
उनीहरूले नेतान्याहु अति अर्थोडक्स सहयोगीहरूप्रति प्रतिबद्ध रहेकाले एकता सरकार बने पनि ती समुदायलाई विशेष छुट दिनुपर्ने अवस्था आउने बताएका छन् ।
इजरायलमा सरकार गठनका लागि विभिन्न दलबीच वार्ता जारी रहँदा नेतान्याहु र आइसेनकोटबीचको सम्भावित सत्ता साझेदारीले आगामी राजनीतिक समीकरणलाई थप अनिश्चित बनाएको छ ।