झापामा ८ लाख ५७ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
झापा । झापा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या ८ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार यो जिल्लाको कुल जनसङ्ख्याको ८६ प्रतिशत हो ।
स्वास्थ्य बीमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म जिल्लाका दुई लाख १७ हजार ५२७ परिवार स्वास्थ्य बीमाको दायरामा आएका छन् । बीमामा ५३ हजार १४२ ज्येष्ठ नागरिक, १२८ कुष्ठरोग प्रभावित, ७४४ एचआईभी सङ्क्रमित, तीन हजार १९१ अपाङ्गता भएका व्यक्ति र ५९० महिला स्वास्थ्य स्वयंसेविकासमेत समेटिएका छन् ।
सरकारले पाँच जनासम्म सदस्य भएको परिवारलाई वार्षिक तीन हजार ५०० रुपैयाँ शुल्कमा न्यूनतम एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रत्येक अतिरिक्त सदस्यका लागि ७०० रुपैयाँ थप शुल्क तिर्नुपर्ने व्यवस्था छ । त्यस्ता परिवारले अधिकतम दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन् ।
जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका लागि पाँच आँखा अस्पताल, सात रेफरल अस्पताल र १५ प्राथमिक सेवा प्रदायक संस्था गरी २७ स्वास्थ्य संस्था सूचीकृत छन् ।
झापाका १५ स्थानीय तहमध्ये दमक नगरपालिकामा सबैभन्दा बढी ११४ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध छन् । दमकमा बसोबास गर्ने भुटानी शरणार्थीसमेत बीमामा समेटिएकाले आबद्धता दर १०० प्रतिशतभन्दा बढी देखिएको हो । भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाईमा पनि बीमा आबद्धता दर ९० प्रतिशतभन्दा माथि छ । सबैभन्दा कम झापा गाउँपालिकामा ४८ प्रतिशत नागरिक मात्र बीमामा आबद्ध छन् ।
पछिल्लो समय बीमा सेवाको उपयोग तथा दाबीमा देखिएको अनियमितता नियन्त्रण गर्न सरकारले नयाँ प्रावधान लागू गरेको छ । जसअनुसार बहिरङ्ग (ओपीडी) सेवामा वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाइनेछ । बाँकी रकम अस्पताल भर्ना, आकस्मिक उपचार तथा शल्यक्रियाजस्ता अत्यावश्यक सेवामा उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
स्वास्थ्य बीमामार्फत हाल एक हजार २९० प्रकारका औषधि उपलब्ध गराइँदै आएको छ । साथै, मङ्सिर महिनादेखि सेवाग्राहीले भौतिक बीमा कार्ड बोक्नुपर्ने बाध्यता हटाउँदै नागरिक एपमा रहेको डिजिटल कार्ड देखाएरै सूचीकृत अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।