क्षेत्रीय स्वास्थ्य सहकार्य प्रभावकारी बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्वास्थ्य सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेकी छन् ।
श्रीलङ्काको कोलम्बोमा हालै आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य चुनौतीहरू राष्ट्रिय सीमामा सीमित नरहने बताइन् । यस्ता चुनौती सामना गर्न सदस्य राष्ट्रबीच समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री मेहताले सङ्क्रामक रोग, एन्टिमाइक्रोबियल प्रतिरोध, पशुजन्य रोग तथा जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिम कुनै एक देशको सीमाभित्र मात्र सीमित नहुने उल्लेख गरिन् ।
कोभिड–१९ महामारीले कुनै पनि देशले ठूलो स्वास्थ्य सङ्कटको सामना एक्लै गर्न नसक्ने पुष्टि गरेको भन्दै उनले क्षेत्रीय सहकार्यलाई समावेशिता, समानता, आपसी विश्वास र व्यावहारिक साझेदारीमा आधारित बनाउनुपर्नेमा जोड दिइन् ।
उनले नेपालमा उद्धार तथा राहत कार्यका क्रममा बिम्स्टेक सदस्य राष्ट्रसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग, सद्भाव र ऐक्यबद्धताप्रति आभारसमेत व्यक्त गरिन् ।
मन्त्री मेहताको निजी सचिवालयले उनको भनाइ उद्धृत गर्दै बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्यको आवश्यकता औँल्याइएको जनाएको छ ।