दसैँ, तिहार र छठका लागि काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन
काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार परिचालित प्रहरीमध्ये १०० जना सादा पोसाकमा खटिएका छन्। उनीहरूले सार्वजनिक स्थल तथा भीडभाड हुने क्षेत्रमा निगरानी गर्दै शङ्कास्पद गतिविधिको पहिचान र नियन्त्रणमा सहयोग गर्नेछन्।
प्रहरीले बजार, बसपार्क, वित्तीय संस्था, सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा सुरक्षा निगरानी बढाएको छ। नियमित गस्तीका अतिरिक्त ड्रोन क्यामेरा, सामाजिक सञ्जाल, सामुदायिक सेवा केन्द्र र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिने प्रहरीले जनाएको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकाका १४ वटा सेक्टरमा सुरक्षा योजना लागू गरिएको छ। सम्बन्धित प्रहरी वृत्तका प्रमुखले आफ्नो क्षेत्रको निगरानी गर्नेछन् भने जिल्ला प्रहरी परिसरले समग्र सुरक्षा व्यवस्थाको अनुगमन गर्नेछ।
चाडपर्वका समयमा किनमेल, यात्रा तथा धार्मिक गतिविधिमा सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।