नेपालबाट मनसुन पूर्णरूपमा बाहिरियो, अब मौसम सफा रहने
यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज असोज २८ गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो ।
मनसुन बाहिरिएसँगै आगामी केही दिन देशभरको मौसम सामान्यतया सफा र घमाइलो रहने पूर्वानुमान गरिएको छ । यद्यपि, पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार यस वर्ष असार ५ गते नेपालमा मनसुन भित्रिएको थियो । सामान्यतया जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने मनसुन यस वर्ष सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो ।
असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागबाट बाहिरिन थालेको मनसुन अहिले देशभरबाट हटेको महाशाखाले जनाएको छ ।
मनसुन अवधिमा समग्रमा सरदर वर्षा भए पनि भूगोलअनुसार वर्षाको मात्रा फरक रहेको थियो । तराई तथा पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको महाशाखाले जनाएको छ ।