राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पहल
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले नेपाल सरकारका विभिन्न मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्न आवश्यक पत्राचार, समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै सरकारी सेवामा कार्यरत कर्मचारीको बीमामा आबद्धता विस्तार गर्ने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको जनाएको छ ।