दसैँ मनाउन २४ घण्टामा ७८ हजारभन्दा बढीले छाडे काठमाडौं
काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ हजार १३८ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार घटस्थापनादेखि हालसम्म सार्वजनिक सवारीसाधनमार्फत एक लाख ८७ हजार ७७४ जना यात्रुले उपत्यका छाडेका छन्। असोज २५ गते ५२ हजार ८२७ र २६ गते ५६ हजार ८०९ जना बाहिरिएका थिए।
दसैँ मनाउन यात्रुहरू फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाकाबाट बाहिरिरहेका छन्।
यात्रुको चापसँगै यातायात व्यवस्थापनमा समस्या देखिएको व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष राजेन्द्र आचार्यले विभिन्न राष्ट्रिय राजमार्गमा सडक बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न कठिनाइ भइरहेको बताए।
यसैबीच, दसैँका लागि हालसम्म एक लाख ३० हजार १२९ यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्। यातायात व्यवसायीले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेका छन्।