भारतको गंगा नदीमा डुङ्गा दुर्घटना, १३ जनाको मृत्यु
भारतको बिहारस्थित वैशाली जिल्लामा गंगा नदीमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। राघोपुर थाना क्षेत्रमा गएराति भएको दुर्घटनामा अधिकांश मृतक बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
समाचारअनुसार भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति डुङ्गामा सवार थिए। दुर्घटनापछि सात जनाको उद्धार गरी नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहले बताएकी छन्। डुङ्गामा सवार बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले जानकारी दिएकी छन्।
दुर्घटनाको कारण खुल्न सकेको छैन। बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।