हलेसी तुवाचुङमा एक शव फेला, हत्या आरोपमा पाँच युवा नियन्त्रणमा
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा ५२ वर्षीय हर्कु राई मृत फेला परेपछि हत्या आरोपमा प्रहरीले पाँच जना स्थानीय युवालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेका राईको शरीरका विभिन्न भागमा चोटपटक देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घटनाको अनुसन्धानका क्रममा प्रहरीले गएराति पाँच जना स्थानीय युवालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो।
“हर्कु राई बिहीबार बेलुकासम्म गाउँमा डुलिरहेको भन्ने खुलेको छ। उनको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ,” प्रहरी निरीक्षक बस्नेतले भने, “अहिलेसम्म घटनाका बारेमा केही खुलेको छैन। अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छौँ।”
प्रहरीका अनुसार मृतकका आफन्तले आरोपितविरुद्ध किटानी जाहेरी दिएपछि थप कानुनी प्रक्रिया अघि बढाइनेछ।
राईको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।